Friday, August 20, 2010

मेघ गर्जन अघि

मेघ गर्जन अघि
आमा तिम्रो आँखामा
एउटा विप्लवको स्वप्न देख्न पाउँ ।

मैले हृदयमा केही पनि राखेको छुइन ।
बस, यौटा विप्लवको कविता
मेघ गर्जन अघि मेरा
खेतला मित्रहरूलाई सुनाउँन पाउँ।

वैसाखी घामले पट- पटी फुटेको खेत
असारको मेघ गर्जन अघि
मेरा किसान भाइहरूले
विप्लवको बिरूवा रोपुन्।

प्रिये अब अन्तिम इच्छा यही छ
मैले जो आफ्नो भने
आज पो थाहा भयो
यो त सब संसारको रहेछ
मैले भ्रम पालेर बसेछु।
आउ अब तिम्रो ओंठमा
मेरो ओठले एउटा विप्लवको कविता कोरी राख्छु।

अन्तिम मेघ गर्जन अघि
तिम्रो पसिनाको थोपा- थोपामा
आगोको कथा भनिराख्छु।।

Tuesday, August 17, 2010

टमाटर र रगत


टमाटर भन्दा रातो छ रगत।
बजारको भाउमा अहिले टमाटर भन्दा
रगत सस्तो भएको छ।

देख्छौं तिमी सड़कमा
नाराहरू छरपस्ट भएको।
नाराहरू रगतपच्छे भएको।

छरिएको टमाटर टिप्ला मान्छेले
तर पोखिएको रगत कसैले टिप्दैनन्।
एकक्षण उभिएर सोच्ने फुर्सत छैन।
लाग्दैन तिमीलाई अच्चम
न त लाग्छ मलाई।
हामी अभ्यस्त भैसक्यौ।

प्लास्टिकका खेलाउना भन्दा कम छैन
हाम्रो जीवन।
कम्प्युटरको कुनै प्रोगाम भन्दा
माथि छैन हाम्रो जीवन।।