बिहान उदाउँदै गरेको घाम
अण्डाको रानी झैं पनेलो, कोमल
अस्ताउँदै गरेको घाम
देखेको छौं बोनी ?
अथवा,
बिहानै चराहरूको चिर-विरे गीत
खोलाको कल-कल बगेको पानीको
मिठो हल्लाहरू सुनेको छौं बोनी ?
अब तिम्रो जीवनमा न त बिहान हुन्छ
न त बेलुकी
हुन्छ त केवल चौबीस घण्टा।
स्वीच अनसितै तिम्रो घाम उदाउँछ
स्वीच अफसितै तिम्रो घाम अस्ताउँछ।
गाउँबाट बी. ए. पास गरेर हिँड़ेकी बोनी आजसम्म घर आएनौ ?
गाउँमा छ पनि के र ?
न त पिज्जा छ तिम्रोलागि
न त छ स्यान्डवीच
न त क्वालिटीवाल्सको आइसक्रिम।
कुरा गर्छन् बोजुले सधैँ
मसिना मसिना तिम्रो सम्झानाको चोइटाहरू।
एक हूल तिम्रो बैंसहरू
घामको चोइटा जस्तै तिम्रो यौवन
पिउँदै छ कलसेन्टरले विस्तारै।
तिम्रो विचारको अस्मितालाई
कालो कालकोठरीमा ताला लगाउँदै छ।
सधैँ ग्राहकहरूसित बोलीरहनु
सधैँ ग्राहकहरूलाई खुशी पारिरहनु
तिमी भएर होइन
तर कुन्नी को-को भएर
कुन्नी को–कोसको क्वार-क्वारे बोलीमा
तिमी बास्नु परेको।
आरूको फूल जस्तै तिम्रो गाला
रक्सीले भिजेको ओठहरूले चुसीरहन्छ।
यस महानगरले धरै बोनीहरूलाई
बिस्तारै नङ्ग्याउँदै छ
यस सभ्यताले विस्तारै ब्ल्याकहोलतिर धकेल्दै छ।
हो त तिम्रो सपनाहरू पनि चोरी भइसके
तिम्रो सपनाहरूलाई ह्याक गरीसके
तिम्रो सपनाहरू सपनाबाटै चोरी हुन्छ।
बोनी तिमी कहिल्यै रातो घाम हेर्दैनौँ ?
जीवनको एकपल पनि
तिमीभित्रको तिमी भएर बाच्दैनौं ?
तिम्रो अस्मितालाई उच्च राखेर
एकपलको मृत्यु मर्दैनौं ?
हो बोनी पर्खीरहेको छ
यी गोरेटोहरूले, यी बाटोहरूले
केवल तिमी एकपल बाँचेको हेर्न।।
3 comments:
लेख्नुपर्ने विषयमै लेखेका छौ, ठीक (उपयुक्त) लेखेका छौ, जे जसरी भन्नुपर्ने हो, भनेका छौ...बधाइ...यस्तै र अरू पनि धेरै रूप-रङ्ग-आकारका धेरैधेरै कविताको लोभ छ तिमीबीट पाउने...ब्लग अपडेट गरिरहने है भाइ...
दाई, साँच्चै यो कविता पढ्दा चेतन भगतको उपन्यास 'One night @ the call centre' पढ़े जस्तो लाग्यो। यथार्थ बाँचेको छ यसमा। सुहाउँदो छ युवा समाजलाई आजको।
दाई, यो कविता पढ़ेँ। चेतभगतले आफ्नो उपन्यास 'One night @ the call centre'मा यस्तै कुरा गरेका छन्। आजका युवा पिढ़ीहरूको कार्यकलाप सुहाउँदो छ। जसमा तपाईँको प्रस्तुती शैली। ढिँड़ो नखानेले ढिँड़ो खाइ पठाउछ।
Post a Comment