Tuesday, January 26, 2010

चियाबारीका कविताहरू - १

बिहानै सपनाहरू तुहेर झरी हाल्छ चियाको बुट्टाहरूमा
यौटा अल्छी दिन आङतान्दै
ठ्याक ठ्या...क य ठुक... ठुक
टोकरीको धुलोहरू झार – झुर गर्नु ।
कैयौं तन्दरी सपनाहरू धुलोसँगै झर्नुपरेको
अस्मिताविहीन भएर ।
पुरानो कुचिएको सिलभरको टिफिनकारीमा
रातोआटाको मझधारमा ढडेका दुई – चारवटा रोटीहरू
आलुको अलिकता तरकारी पोकोपार्नु
बिस हिउँद पुगेको छेन्द्रा – छेन्द्रा भएर छेउकुना फाटेको रूमालले ।
रातो कालो टर्रो चिया
कोकोकोलाको बोतोलमा खन्याउनु
अनि हतारिन्दै दगुर्नु
साइरनको पहिलो आवाजमा।
यौटा अधबैँसे औरतहरू।

सपना ? मेरो ?
चियाको मुनासँगै मेरो पसिना, तन्दरी सपनाहरू
फ्याक्ट्रीमा पेलेर प्याकिट प्याकिट
बजारमा पठाएको छ
मैले नपाएको मूल्यहरूको लेबल टासेर।
“घुम्ने मेचमा” बसेर
हत्केलाले कम्प्युटर छामेर बस्ने
ओ ! सुकिलो धनी मान्छे
हेर्नु इसक्रिन खोलेर मेरो सपना
टाइप गर्नु मेरो पसिना
सु....रूप......सु.....रूप....
चिया पिउँदै।
-----------ओऊ---------------------


चियाबारीका कविताहरू - २


चियाको बुट्टावरिपरि पलाएको झ्यारलाई
फाड्ने कुनै लाक्ने सिक्कलले
कुनै शोषकको घाटी नाप्न सकिन्छ ?
मध्यदिनको टनटलापुर घाममा
चियाको मुना टिप्दा- टिप्दै
डड़ेर कालो बनेको सेतो मोङ्गोलियन छाला
बब् मार्लेको “बफेलो सोल्जर” भन्दा कम छैन।
काखको नानीलाई दुध चुसाउँदा – चुसाउँदै
चिसो बेलाइती टौउवामा फ्यात्त फ्याकेर
हिडनु परेको मेलो लाक्नु
यी बफेलो सोल्जरहरू
इतिहासको महान नायिका भन्दा कम छैन।


दुःख्नु कही छैन
सधैँ “कूल” ।
महङ्गाइको कोर्राले सधैँ हिर्काइरहेको छ
सपनाले सधैँ झुकाइरहेको छ
भविष्यले सधैँ अध्यारो ओडारमा धकेलीरहेको छ।






चियाबारीका कविताहरू - 3

मनमा जहिले पनि
सन्त्रासलाई ओत्याएर हिड्नु परेको ।

कुनै पनि समय ताला लाग्नसक्छ
फ्याक्ट्रीना, बगानमा, पेटमा, स्वप्नमा
आवाजहरूलाई बुलन्द गर्न नै सकिन्दैन
सपनाहरू सुन्दर देख्न नै सकिन्दैन
अनुमति छैन पनि ।
आवाज, सपना सबैलाई सन्त्रासमुनि
मिलेटेरी बुटले रोडमार्च गर्नथाल्छ ।

बिहानै फ्याक्ट्रीको भित्तामा नोटिस टाँगेको छ -
“तिमीहरूलाई आवाज उच्च गर्नु मनाही छ,
भविष्यको सुन्दर सपना देख्नु मनाही छ,
केवल काम गर्नु फलको आशाको नराखी”


--------------------ऊऊ---------------



चियाबारीका कविताहरू - 4

साइरनको पहिलो आवाज मै
हिड्नु परेको तिमी चियाको बोट सुमसुमाउनु
तिम्रो यौवन
सपाना
उमङ्ग
सप्पै समपर्ण गर्नुपरेको
त्यही चियाको बोटमा ।


तिम्रो यौवन पनि
त्यही चियाको बोट जस्तै
रूख हुननपाइ पोथ्रा – पोथ्रा भएको छ ।


तिम्रो सपनाहरू पनि
त्यही चियाको मुना जस्तै टिपिन्दै बेचिएको छ
पुन्जीपतिको प्रत्येक चियाको कप –कपमा ।
तिमीलाई कहिल्यै शिर खडा गर्न दिन्दैन यिनीहरूले
तिमी पनि कहिल्यै शिर खडा गर्ने कोशिष गर्दैनौ
शोषकका विरूद्धमा ।।
=====

चियाबारीका कविताहरू - 5



जुनेली रातमा चियाको
पत्तीमा पसिनाको
थो....पा...
थो...
पा.....
चियाको पहिलो चुस्कीमा नै
तिमीले पिएको हुनेछौं
मेरो पसिना ।
बासना कपमा मगमगाएको हुनुपर्छ

सि
ना...को
तरै पनि सम्वेदनाको इ- मेल
न त तिमीसम्म पुग्नसक्यो
न त मसम्म आउनसक्यो । ============

W W W .अभिब्यक्ति. कम


मलाई कहाँ फुर्सत छ
तिमीलाई जस्तो
इ-मेल गर्नुपर्छ
धेरै मनहरूसगँ च्याटिङ गर्नुपर्छ ।
बस एउटा सानो खोरबाट
इन्टरनेट – एक्सप्रसमा
संसार डुल्न छ ।

माई फुर्सत छ
प्रेमको कुरा गर्नु
शान्तीको वार्ता गर्नु ।

बजेट सेशन कस्तो छ ?
मार्केट कति डाउन छ ?
डलरको भ्यालु कति छ ?
यी कुराहरू सोध मलाई
तर नसोध प्रमको कुरा
शान्ती र धर्मको कुरा ।
सोध आन्तकवादको
सोध अस्त्र- शस्त्रको कुरा
शेयर बजारको कुरा सोध ।


माई डियर,
मोबाइलको दाम कति घट्यो ?
सोरूममा नयाँ कुनचाहि बाइक आयो छ ?
तिम्रो भिसा बनियो छ ?
कति डाइल गरे तिम्रो मोबाइलमा
तिम्रो मोबाइल अफ छ ?
अपाङ् प्रमको इन्टरभ्यु छ
शेरमार्केटको दलाल स्ट्रिटमा खबर दिनु छ ।

गरिबी के हो ?
उफ् फ्लिज बोर कोइसन नसोध
गरिबी इ-मेल गरेर पठाइदिउ
अरब, अमेरिका, कि सिंगापुर ।

--------------


हाँगादेखी हाँगासम्म
पातदेखी पातसम्म
कुनै गगनचुम्बी भवनको लिफ्ट झैँ
म सधैँ उकालो बढीरहन चाहान्छु [म धुप्पी]
यौटा घना जङ्गलमा सधैँ हरियो कम्बल ओडेर
उभिएर यात्रा गरिरहन्छु । यौटा युगदेखि अर्को युगसम्म ।

सभ्यताको नाममा तर तिमीले कस्तरी चिरीरहन्छौं मलाई
कोमल मेरो शरीरमा । फगत् तिम्रो बचाइँको स्वार्थीपनाले बन्चरो हानीरहन्छ ।
मैले ओडेको हरियो कम्बललाई
कुनै कुमारी युवतीको लुगा च्याते झै नाङ्गै बनाउँछौं।


मेरो मौनतालाई मान्छले सधैँ बलात्कार गरीरहन्छ।

लाँचेले मेरो मौनता भङ्ग गर्दै
सधैँ मलाई कातकुती लगाइरहन्छ। हाँगा हाँगामा ।
मेरै मनको मौन गीत कोइली आएर गाइदिन्छ काँधमा बसेर ।
---------------------०००००---------------------




म टिस्टा बग्छु




निरन्तर बगीरहन्छु पहाडदेखि मधेससम्म
झरनादेखि तिम्रो बाथरूमको सावरसम्म।
सधैँ स्वच्छ म टिस्टा बग्छु
मेरो बाटोको छेउकुना सधैँ चोरीरहन्छौं तिमी
कहिले पर्खाल खडा गर्छौ
मेरो बग्नुको निरन्तता तोडन।

इतिहासदेखि इतिहासम्म बगिरहन्छु म।
निश्चल। निष्कपट। ममा बग्नुको समयता छ।

सभ्यताको नाममा आजभोली मलाई
एक कुमारी छोरीलाई झै छल गरी
बेच्न थालेका छन् ।
अर्थात् म बेचिए कुनै दलालको हातमा।
मोटो रकममा। बजारमा प्लास्टिकको बोतल –बोतलमा
म बेचिन्दै गरेको हुन्छु।
मेरो शुद्धतामा, कोमलतामा
मेरो कुमारीत्वमा भाउको मोलतौल भइरहेको हुन्छ।

म बग्दैछु
तिम्रो तिर्खादेखि प्लास्टिकको बोतलसम्म
निरन्तर एक युगदेखि अर्को युगसम्म
म बग्नुको कुनै परिभाषा छैन।
----------------०००----------------

1 comment:

nikki said...

your poems are very realistic. it really carries the true experiences of the tea garden's people. keep it up and don't stop providing them voice thru your poems. nimu